निर्माण व्यवसायी महासंघ, कर्णाली प्रदेशको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने अधिवेशनबाट महासंघको नयाँ नेतृत्व चयन गरिने भएकाले कर्णालीभरका निर्माण व्यवसायीहरूको ध्यान यसतर्फ केन्द्रित भएको छ।
अधिवेशनमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, निर्माण व्यवसायी तथा महासंघका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको छ। महासंघले अधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने जनाएको छ।
यसपटकको नेतृत्वका लागि पूर्व कर्णाली प्रदेश महासचिव, बसना निर्माण सेवाका निर्देशक तथा रास्कोट नगरपालिका निवासी मानव बम अध्यक्ष पदका बलिया दाबेदारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। लामो समयदेखि निर्माण व्यवसायमा सक्रिय बम संगठनभित्र अनुभवी, समन्वयकारी र व्यवसायीहरूको साझा आवाजका रूपमा परिचित मानिन्छन्।
आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै बमले निर्माण व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण, पारदर्शी र उत्तरदायी नेतृत्व, संस्थागत सुदृढीकरण तथा सार्वजनिक खरिद प्रणालीमा आवश्यक नीतिगत सुधारलाई आफ्नो नेतृत्वको मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले कर्णालीका सबै जिल्लाका निर्माण व्यवसायीलाई एउटै सूत्रमा आबद्ध गर्दै महासंघलाई अझ सशक्त, प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए। साथै निर्माण सम्पन्न भइसकेका आयोजनाको समयमै भुक्तानी सुनिश्चित गर्न पहल गर्ने, सार्वजनिक खरिद प्रक्रियामा देखिएका व्यावहारिक समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्ने तथा निर्माण व्यवसायीका साझा मुद्दालाई नीतिगत तहसम्म पुर्याउने आफ्नो योजना रहेको उनको भनाइ छ।
अधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका उम्मेदवारहरूबीच चुनावी गतिविधि पनि तीव्र बन्दै गएको छ। यसबीच मानव बमको उम्मेदवारीलाई निर्माण व्यवसायीहरूको बीचमा अर्थपूर्ण र प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ।
दुईदिने अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले कर्णाली प्रदेशका निर्माण व्यवसायीहरूको हक–हित संरक्षण, संस्थागत सुदृढीकरण, सार्वजनिक खरिद प्रणालीमा सुधार तथा व्यवसायिक वातावरण थप सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





