वित्तीय प्रगतिमा कालिकोटको सामाजिक विकास कार्यालय कर्णालीमै उत्कृष्ट

वित्तीय प्रगतिमा कालिकोटको सामाजिक विकास कार्यालय कर्णालीमै उत्कृष्ट

सीमित स्रोत–साधनका बीच कार्यालयले विकास बजेट तथा लक्षित कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै प्रदेशस्तरमै उत्कृष्ट वित्तीय प्रगति हासिल गरेको हो । कार्यालयले सामाजिक विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम तथा योजनालाई समयमै कार्यान्वयनमा लैजानुका साथै विनियोजित बजेटलाई प्रभावकारी रूपमा परिचालन गरेको जनाईएको छ । योजना कार्यान्वयनमा नियमित अनुगमन, सरोकारवाला निकायसँगको समन्वय र लक्षित वर्गसम्म कार्यक्रमको पहुँच पुर्‍याउने प्रयासका कारण वित्तीय प्रगतिमा उल्लेख्य सुधार आएको सामाजिक विकास कार्यालयका प्रमुख अबिराज शाहीले बताए ।
कालिकोट भौगोलिक रूपमा विकट जिल्ला भएकाले विकास निर्माण तथा सरकारी कार्यक्रम कार्यान्वयनमा विभिन्न चुनौती रहँदै आएका छन् । दुर्गम बस्ती, कठिन भौगोलिक अवस्था, यातायातको समस्या तथा सीमित जनशक्तिका कारण कतिपय सरकारी कार्यालयलाई आर्थिक वर्षभित्रै बजेट कार्यान्वयन गर्न कठिन हुने गरेको छ । यस्तो अवस्थाबीच सामाजिक विकास कार्यालय कालिकोटले प्रदेशमै दोस्रो स्थान हासिल गर्नु महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको उनकाे भनाई छ ।
कार्यालयमार्फत शिक्षा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लक्षित समुदायसँग सम्बन्धित सामाजिक विकासका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यी कार्यक्रमलाई आवश्यकता र प्राथमिकताका आधारमा कार्यान्वयनमा लैजाँदा बजेट खर्चसँगै सेवाको प्रभावकारिता बढाउनसमेत सहयोग पुगेको हाे । शाहीका अनुसार वित्तीय प्रगति हासिल गर्नुमा कार्यालयका कर्मचारीको सक्रियता, स्थानीय तहसँगको समन्वय तथा कार्यक्रम कार्यान्वयनमा सम्बन्धित पक्षको सहयोग महत्वपूर्ण रहेको छ । स्वीकृत कार्यक्रमलाई समयमै अघि बढाउने, आवश्यक प्रक्रियालाई छिटो टुंग्याउने र नियमित रूपमा प्रगतिको समीक्षा गर्ने कार्यलाई प्राथमिकता दिइएको थियो ।
वित्तीय प्रगतिको यो उपलब्धिले कालिकोटमा सरकारी बजेट कार्यान्वयनको अवस्था सुधार हुँदै गएको संकेतसमेत गरेको छ । विगतमा बजेट विनियोजन भए पनि कार्यान्वयन तथा खर्चको गति कमजोर हुने गरेको गुनासो सुनिँदै आएको अवस्थामा सामाजिक विकास कार्यालयले हासिल गरेको प्रगतिले अन्य सरकारी कार्यालयका लागि पनि सकारात्मक सन्देश दिएको छ ।
प्रदेशमा दोस्रो स्थान हासिल गर्नु कार्यालयका लागि मात्र नभई कालिकोट जिल्लाकै लागि गौरवको विषय भएको स्थानीय सरोकारवालाको भनाइ छ । बजेट खर्चलाई मात्र उपलब्धिको आधार नबनाई त्यसबाट नागरिकले पाएको सेवा, कार्यक्रमको गुणस्तर र लक्षित समुदायमा परेको प्रभावलाई पनि आगामी दिनमा प्राथमिकताका साथ मूल्यांकन गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको धारणा छ ।
सामाजिक विकास कार्यालय कालिकोटले आगामी दिनमा पनि बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने जनाएको छ । कार्यालयले वित्तीय प्रगतिको यो अवस्थालाई निरन्तरता दिँदै सामाजिक विकासका कार्यक्रमलाई अझ व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य लिएको छ ।
कालिकोटजस्तो भौगोलिक रूपमा चुनौतीपूर्ण जिल्लामा सामाजिक विकास कार्यालयले वित्तीय प्रगतिमा जिल्लामै पहिलो तथा समग्र कर्णाली प्रदेशमा दोस्रो स्थान हासिल गर्नु सरकारी कार्यालयको कार्यसम्पादन सुधारतर्फको महत्वपूर्ण उपलब्धि मानिएको कार्यालयका लेखापाल बिश्वामित्र उपाध्यायले बताए । अब भने बजेट खर्चसँगै त्यसको गुणस्तर, पारदर्शिता र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणामलाई केन्द्रमा राखेर आगामी कार्यक्रम अघि बढाउने उनकाे भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित