कालीकोट — आर्थिक वर्ष २०८२/८३ को अन्तिम लेखापरीक्षणका लागि महालेखा परीक्षकको टोली पहिलोपटक गाउँपालिकाको केन्द्रमै पुगेको छ। कालीकोटको महावै गाउँपालिकामा महालेखा परीक्षकको टोलीले गाउँपालिकामै पुगेर लेखापरीक्षण सुरु गरेको हो।
यसअघि महावै गाउँपालिकासहित जिल्लाका स्थानीय तहको लेखापरीक्षणका लागि महालेखा परीक्षकको टोलीले जिल्ला सदरमुकाम मान्माबाटै काम गर्ने गरेको थियो। तर, चालु आर्थिक वर्षमा भने पहिलोपटक गाउँपालिकाको केन्द्र पादमघाटमै पुगेर अन्तिम लेखापरीक्षणको काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
महालेखा परीक्षकको टोली गाउँपालिका केन्द्रमा पुगेपछि परिचयात्मक बैठकसमेत गरिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए। उनका अनुसार लेखापरीक्षणका क्रममा आवश्यक कागजात तथा विवरण उपलब्ध गराउने र विगतमा देखिएका बेरुजु समयमै फर्स्योट गर्ने विषयमा गाउँपालिकाले प्राथमिकता दिएको छ।
“पहिलोपटक पालिकास्तरमै परिचयात्मक बैठक गरी टोलीले आवश्यक कागजात जुटाउन र बेरुजु आउन नदिने तथा आएका बेरुजुहरूलाई तत्कालै फर्स्योट गर्ने विषयमा काम अघि बढाएका छौँ,” अध्यक्ष सिंहले भने।
महालेखा परीक्षकको टोलीले गाउँपालिकामा सञ्चालन भएका योजना तथा कार्यक्रम, बजेट खर्च, आय–व्यय, आर्थिक कारोबार, लेखा प्रणाली तथा विकास निर्माणसँग सम्बन्धित आर्थिक गतिविधिको अध्ययन तथा परीक्षण गर्नेछ।
त्यसैगरी गाउँपालिकाका विभिन्न शाखा तथा इकाइबाट भएका आर्थिक कारोबारसँग सम्बन्धित बिल–भरपाई, बैंक कारोबार, राजस्व संकलन, खर्च विवरण, योजना तथा कार्यक्रमको प्रगति र वित्तीय व्यवस्थापनसम्बन्धी कागजातसमेत परीक्षण गरिने जनाइएको छ।
महावै गाउँपालिकामा पहिलोपटक गाउँपालिका केन्द्रमै पुगेर महालेखा परीक्षण हुन थालेपछि स्थानीय तहको आर्थिक अनुशासन, पारदर्शिता र वित्तीय जवाफदेहिता थप बलियो बन्ने अपेक्षा गरिएको अध्यक्ष सिंहले बताए।
स्थानीय तहको आर्थिक कारोबार र सार्वजनिक स्रोतको उपयोगबारे प्रत्यक्ष रूपमा परीक्षण तथा अनुगमन हुँदा वित्तीय व्यवस्थापनमा सुधार ल्याउन, सम्भावित बेरुजु न्यूनीकरण गर्न तथा विगतका बेरुजु फर्स्योटलाई प्रभावकारी बनाउन सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ।





