रास्कोटका दुई विद्यालयमा, लैंगिक तथा अपाङ्गमैत्री शौचालय निर्माण

रास्कोटका दुई विद्यालयमा, लैंगिक तथा अपाङ्गमैत्री शौचालय निर्माण

कालीकोट । रास्कोट नगरपालिकाका दुई विद्यालयमा करिब ४४ लाख ८३ हजार रुपैयाँको लागतमा निर्माण गरिएका बाल, लैंगिक तथा अपाङ्गमैत्री सुविधासम्पन्न शौचालय भवन तथा हात धुने धारा हस्तान्तरण गरिएको छ।

वार्म नेष्ट फाउन्डेसनको आर्थिक सहयोग, प्लान इन्टरनेशनल नेपाल र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालको साझेदारी तथा रास्कोट नगरपालिकाको समन्वयमा सञ्चालित ‘रास्कोट महिनावारी स्वास्थ्य तथा खानेपानी तथा सरसफाइ स्वच्छता सुधार परियोजना (RMWIP)’ अन्तर्गत उक्त संरचना निर्माण गरिएको हो।

परियोजनाअन्तर्गत रास्कोट नगरपालिका–४, विजयपुरस्थित श्री बडीमालिका माध्यमिक विद्यालयमा २१ लाख ५७ हजार ६३७ रुपैयाँ ६२ पैसाको लागतमा तीनकोठे पक्की शौचालय भवन तथा हात धुने धारा निर्माण गरिएको छ। यसमध्ये रास्कोट नगरपालिकाको साझेदारी ४ लाख रुपैयाँ रहेको छ भने संस्थागत साझेदारी रकम १७ लाख ५७ हजार ६३७ रुपैयाँ ६२ पैसा रहेको छ।

त्यस्तै, रास्कोट नगरपालिका–१, लहरेलास्थित श्री कालिका आधारभूत विद्यालयमा २३ लाख २५ हजार ५३३ रुपैयाँ ५६ पैसाको लागतमा तीनकोठे पक्की शौचालय भवन तथा हात धुने धारा निर्माण गरिएको छ। उक्त संरचनामा पनि नगरपालिकाको साझेदारी ४ लाख रुपैयाँ रहेको छ।

यसरी दुवै विद्यालयका संरचना निर्माणमा कुल ४४ लाख ८३ हजार १७१ रुपैयाँ १८ पैसा खर्च भएको परियोजनाले जनाएको छ।

निर्माण गरिएका शौचालय भवनहरू बालमैत्री, लैंगिकमैत्री तथा अपाङ्गमैत्री सुविधासहित निर्माण गरिएको जनाइएको छ। विद्यालयमा सुरक्षित शौचालय तथा हात धुने सुविधा उपलब्ध भएपछि विद्यार्थीको स्वास्थ्य, सरसफाइ र स्वच्छतामा सुधार हुनुका साथै छात्राहरूलाई महिनावारीका समयमा विद्यालयमा नियमित रहन सहज हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले विद्यालयमा निर्माण भएका सुविधासम्पन्न संरचनाले विद्यार्थीको स्वास्थ्य, सरसफाइ र सुरक्षित विद्यालय वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले शिक्षा र स्वास्थ्यसँग जोडिएका यस्ता पूर्वाधार निर्माणमा स्थानीय सरकार र विकास साझेदारबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

रास्कोट नगरपालिकाका उपप्रमुख मनिराज बरालले शौचालय तथा हात धुने संरचना विद्यार्थीको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको आधारभूत पूर्वाधार भएको बताउँदै यसको उचित प्रयोग र संरक्षणमा विद्यालय तथा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

हुरेन्डेक नेपालका अध्यक्ष गौरीकुमारी शाहीले महिनावारी स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता सुधारलाई विद्यालय तहबाटै प्रभावकारी रूपमा अघि बढाउन परियोजना केन्द्रित रहेको बताउनुभयो। उहाँले निर्माण गरिएका संरचनाको दिगो प्रयोग र संरक्षणसँगै विद्यार्थी तथा समुदायमा स्वच्छता व्यवहार विकास गर्न पनि जोड दिनुभयो।

निर्माण कम्पनीका रूपमा लुक लुक निर्माण सेवा, पलाँता गाउँपालिका–७, कालीकोटले संरचना निर्माण गरेको हो। दुवै विद्यालयमा निर्माण कार्य सम्पन्न भएपछि संरचना सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित