महिनावारीबारे भ्रम र विभेद हटाउन कर्णालीमा प्रदेशस्तरीय सिकाइ सम्मेलन

महिनावारीबारे भ्रम र विभेद हटाउन कर्णालीमा प्रदेशस्तरीय सिकाइ सम्मेलन

कालिकोट । महिनावारीसम्बन्धी भ्रम, विभेद र सामाजिक कुरीति अन्त्य गर्दै स्वच्छता तथा सम्मानजनक व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेशस्तरीय महिनावारी स्वास्थ्य तथा स्वच्छता सिकाइ सम्मेलन सम्पन्न भएको छ।
प्लान इन्टरनेशनलको आर्थिक सहयोग, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको समन्वय तथा मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक–नेपाल), कालिकोटको सहजीकरण तथा कार्यान्वयनमा प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्मेलन आयोजना गरिएको हो।
‘महिनावारीमा स्वच्छता र सम्मान, सबैको साझा अभियान’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलन हुरेन्डेक–नेपालका अध्यक्ष गौरीकुमारी शाहीको अध्यक्षता तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका किशोरीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री टेकराज पछाईले महिनावारी स्वास्थ्य तथा स्वच्छतालाई स्वास्थ्य र सामाजिक सम्मानसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो। महिनावारीका कारण किशोरी तथा महिलाले विभेद भोग्नुपर्ने अवस्था अन्त्य गर्न जनचेतना अभिवृद्धि, सरसफाइको उचित व्यवस्था र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
उहाँले महिनावारीसम्बन्धी गलत धारणा हटाउँदै किशोरी तथा महिलाले सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो।

हुरेन्डेक–नेपालका अध्यक्ष तथा सम्मेलनकी सभाध्यक्ष गौरीकुमारी शाहीले महिनावारीसम्बन्धी भ्रम, विभेद र सामाजिक कुरीति हटाउन समुदायस्तरदेखि नीतिगत तहसम्म निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो।
किशोरीका अनुभव, आवश्यकता र सवाललाई प्राथमिकतामा राख्दै महिनावारीलाई सम्मानजनक बनाउने अभियान प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो। यसका लागि सरकारी निकाय, विकास साझेदार, विद्यालय, परिवार र समुदायबीच सहकार्य हुनुपर्ने उहाँले जोड दिनुभयो।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले महिनावारी स्वास्थ्य तथा स्वच्छता प्रवर्द्धनमा स्थानीय तह, विद्यालय, परिवार र समुदायको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।
किशोरीले महिनावारीका समयमा सुरक्षित र सम्मानजनक वातावरण पाउनुपर्ने उल्लेख गर्दै यस विषयमा जनचेतना अभिवृद्धि र व्यवहार परिवर्तनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।

रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले महिनावारीका समयमा किशोरीहरूले भोग्ने समस्या न्यूनीकरण गर्न स्थानीय तहबाट आवश्यक पहल गर्नुपर्ने बताउनुभयो।
महिनावारीसम्बन्धी विभेद अन्त्य गर्न जनचेतना विस्तार, स्वच्छता व्यवस्थापन र सम्मानजनक व्यवहार प्रवर्द्धन आवश्यक रहेको उल्लेख गर्दै उहाँले किशोरीमैत्री वातावरण निर्माणमा सबै पक्षको सहकार्य हुनुपर्ने धारणा राख्नुभयो।

सम्मेलनमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट सहभागी किशोरीहरूको उपस्थितिले महिनावारी स्वास्थ्य तथा स्वच्छताको विषयमा उनीहरूको अनुभव, आवश्यकता र सवाललाई महत्त्व दिएको छ।
महिनावारीका समयमा स्वच्छ पानी, सुरक्षित शौचालय, आवश्यक स्वच्छता सामग्री र सम्मानजनक व्यवहार सुनिश्चित गर्नु यस क्षेत्रका महत्त्वपूर्ण आवश्यकता हुन्। महिनावारीलाई लाज, अपवित्रता र विभेदसँग जोड्ने सामाजिक सोच परिवर्तन गर्दै यसलाई प्राकृतिक जैविक प्रक्रियाका रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता छ।
महिनावारी स्वास्थ्य तथा स्वच्छता प्रवर्द्धनका लागि प्रदेश तथा स्थानीय सरकार, विकास साझेदार, विद्यालय, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको सम्मेलनको सन्देश रहेको छ।

महिनावारी स्वास्थ्य स्वच्छता सम्बन्धी कर्णाली घोषणापत्र पारित गर्दै सुक्रवार नै सम्बेलन सम्पन्न हुने मानवअधिकार तथा वातावरण बिकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटका जिल्ला ब्यावस्थापक दिलिप कुमार शाहीले बताउनु भयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित