किरण अधिकारी
कालीकोट — जिल्लाको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटवाडा स्वास्थ्य चौकीले पोषण सुधारको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्थाको मान्यता प्राप्त गरेको छ। ‘स्वस्थ, सुखी र समृद्ध परिवार हाम्रो सरोकार, प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा जनताको अधिकार’ भन्ने मूल नाराका साथ आइतबार आयोजित एक समारोहबीच उक्त स्वास्थ्य चौकीलाई औपचारिक रूपमा पोषणमैत्री घोषणा गरिएको हो।
पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि तोकिएका १६ सूचकमध्ये १५ वटा सूचकमा ९० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेपछि कोटवाडा स्वास्थ्य चौकी यो उपलब्धि हासिल गर्न सफल भएको हो। स्वास्थ्य चौकी इन्चार्ज सुशीला विष्टले सेवा क्षेत्रमा कुपोषण पूर्ण रूपमा अन्त्य भएको जानकारी दिँदै यस उपलब्धिलाई दीगो बनाइराख्न समुदाय, स्थानीय तह तथा सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको बताइन्।
स्वास्थ्य चौकीको सेवा क्षेत्रमा कुपोषण न्यूनीकरणको यात्रा उल्लेखनीय रहेको छ। तीन वर्षअघि १५ जना बालबालिकामा कुपोषण देखिएकोमा गत वर्ष यो संख्या घटेर १० मा सीमित भएको थियो। चालु वर्षमा भने कुपोषणको दर शून्यमा झार्न सफल भएको स्वास्थ्य संस्थाले जनाएको छ। दुई वर्षअघिसम्म करिब ३ प्रतिशत रहेको कुपोषण दरलाई पूर्ण रूपमा अन्त्य गर्नु यस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
२०४७ सालमा स्थापना भएको कोटवाडा स्वास्थ्य चौकीले पछिल्ला वर्षहरूमा समुदायकेन्द्रित पोषण कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै उल्लेखनीय सुधार ल्याएको हो। ‘हरेक बार खाना चार’ जस्ता पोषण अभियान, नियमित गर्भजाँच, सुरक्षित मातृत्व सेवा, स्तनपान प्रवर्द्धन, र कुपोषित बालबालिकाको पहिचान तथा उपचारमा निरन्तर सक्रियता देखाइएको छ। स्वास्थ्य शाखा प्रमुख मानबहादुर सहकारीका अनुसार समुदायमा व्यापक जनचेतना अभिवृद्धि, स्थानीय सहभागिता तथा विभिन्न संघसंस्थाको समन्वयात्मक प्रयासले यो सफलता सम्भव भएको हो।
पोषणमैत्री घोषणाका प्रमुख सूचकहरूमा गर्भवती महिलाको कम्तीमा ८ पटक प्रसूति पूर्व जाँच गराउने दर ९० प्रतिशतभन्दा बढी हुनु, गर्भावस्थाभर १८० आइरन चक्की सेवन गर्ने दर उच्च हुनु, शतप्रतिशत संस्थागत सुत्केरी सेवा सुनिश्चित हुनु तथा नवजात शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुनु समावेश छन्।
त्यसैगरी ६ देखि ५९ महिनासम्मका ९७ प्रतिशत बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल सेवन गरेका छन् भने १ वर्षदेखि ५९ महिनासम्मका ९१ प्रतिशत बालबालिकाले जुकाको औषधि सेवन गरेका छन्। सबै बालबालिकाको नियमित बृद्धि अनुगमन गरिएको छ र दर्ता भएका शतप्रतिशत बालबालिकाले जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान पाएका छन्। ६ महिनापछि पूरक आहारको व्यवस्था, कम तौल भएका नवजात शिशुको संख्या शून्य हुनु, शतप्रतिशत पूर्ण खोप सुनिश्चित हुनु, बालभिटा, जिंक चक्की तथा पुर्नजलीय झोलको पहुँच सबै बालबालिकामा पुग्नुजस्ता उपलब्धिहरू पनि उल्लेखनीय छन्।
किशोरी स्वास्थ्यतर्फ पनि सकारात्मक प्रगति देखिएको छ। २६ हप्तासम्म आइरन फोलिक चक्की सेवन सुनिश्चित गरिनुका साथै किशोरीहरूमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि गरिएको छ।
अनुगमनमा संलग्न स्वास्थ्य सेवा कार्यालयका पोषण फोकल पर्सन कटकबहादुर महतका अनुसार सबै सूचकहरू सन्तोषजनक रूपमा पूरा भएकै आधारमा कोटवाडा स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्थाको रूपमा घोषणा गरिएको हो।
यो उपलब्धिसँगै कोटवाडा स्वास्थ्य चौकीले कालीकोट जिल्लामा पोषण सुधारको क्षेत्रमा नमुना प्रस्तुत गरेको छ। स्थानीयस्तरमै प्रभावकारी योजना, समुदायको सक्रिय सहभागिता र निरन्तर अनुगमनबाट कुपोषण अन्त्य गर्न सकिन्छ भन्ने सन्देश यसले दिएको छ। अब यस उपलब्धिलाई दीगो बनाउँदै अन्य स्वास्थ्य संस्थाहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।





