कालिकोटमा सकारात्मक यौन शिक्षाबारे अन्तरक्रिया, गलत धारणा हटाउन जोड

कालिकोटमा सकारात्मक यौन शिक्षाबारे अन्तरक्रिया, गलत धारणा हटाउन जोड

किरण अधिकारी

कालिकोट — सशक्त बालिका परियोजना (GSS) कार्यक्रम अन्तर्गत “सकारात्मक यौन शिक्षामा नागरिक समाज र सञ्चारकर्मीको भूमिका” विषयक एक दिने अन्तरक्रिया कार्यक्रम कालिकोट जिल्लामा सम्पन्न भएको छ।

उक्त कार्यक्रम प्लान ईन्टरनेशनलको सहयोग, रास्कोट नगरपालिका को समन्वय तथा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल को आयोजनामा सञ्चालन गरिएको हो।

कार्यक्रम हुरेन्डेक नेपाल कालिकोटका जिल्ला व्यवस्थापक दिलिप कुमार शाही को अध्यक्षतामा तथा गैर सरकारी संस्था महासंघ का केन्द्रीय सदस्य कल्पना रावल बोगटी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

अन्तरक्रियामा जिल्लास्थित विभिन्न नागरिक समाजका प्रतिनिधि, महिला अधिकारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि, साथै विभिन्न पत्रपत्रिका, रेडियो तथा अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य समुदायमा सकारात्मक यौन शिक्षाको आवश्यकता र यसको महत्वबारे साझा बुझाइ विकास गर्नु, यससम्बन्धी भ्रम र गलत धारणाहरूलाई चिर्नु तथा यसको प्रभावकारी प्रसारका लागि नागरिक समाज र सञ्चारकर्मीको भूमिका स्पष्ट पार्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख प्रशिक्षक तथा मानव अधिकारकर्मी काली बहादुर मल्ल ले सकारात्मक यौन शिक्षासम्बन्धी सहजीकरण गर्दै किशोर–किशोरीहरूमा यौन तथा प्रजनन स्वास्थ्यबारे सही, वैज्ञानिक र तथ्यपरक जानकारीको अभावका कारण विभिन्न सामाजिक समस्या उत्पन्न हुने गरेको उल्लेख गरे। उनले यौन शिक्षा केवल जैविक विषय मात्र नभई व्यवहार, मूल्य, सम्मान, सहमति र सुरक्षित भविष्यसँग जोडिएको महत्वपूर्ण पक्ष भएको स्पष्ट पारे।

उनले भने, “सही समयमा सही जानकारी पाए किशोर–किशोरीहरू जिम्मेवार, सचेत र सुरक्षित बन्न सक्छन्। यसका लागि विद्यालय, परिवार, समुदाय र सञ्चारमाध्यम सबैको साझा प्रयास आवश्यक छ।”

कार्यक्रममा सहभागीहरूले ग्रामीण क्षेत्रमा यौन शिक्षाबारे अझै पनि लाज, डर र संकोचका कारण खुलेर छलफल हुन नसकेको, जसले गर्दा किशोर–किशोरीहरू गलत सूचना र जोखिमपूर्ण व्यवहारतर्फ आकर्षित हुने सम्भावना बढेको धारणा राखेका थिए। उनीहरूले यस्ता विषयमा खुला संवाद, सचेतनामूलक सामग्री उत्पादन र प्रसारण तथा स्थानीय तहको सक्रियता बढाउनुपर्नेमा जोड दिएका थिए।

त्यसैगरी सञ्चारकर्मीहरूले सकारात्मक यौन शिक्षासम्बन्धी विषयवस्तुलाई संवेदनशील, तथ्यपरक र जिम्मेवार ढंगले प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले यस्ता विषयमा जनचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यम प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष दिलिप कुमार शाही ले समाजमा यौन शिक्षाप्रति विद्यमान नकारात्मक सोच, भ्रम र रूढीवादी धारणालाई परिवर्तन गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए। उनले नागरिक समाज र सञ्चार क्षेत्रले तथ्यमा आधारित सूचना प्रवाह गर्दै सकारात्मक सोच निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि कल्पना रावल बोगटी ले यौन शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै यसलाई विद्यालय तहदेखि नै व्यवहारिक र प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने धारणा राखिन्। उनले यस्ता कार्यक्रमले स्थानीय तहमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले यौन शिक्षा सम्बन्धी विषयलाई समुदायस्तरसम्म पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित