मान्मा, कालिकोट। कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालित कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२/८३ को मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता जिल्ला कृषि विकास कार्यालय कालिकोटका निमित्त प्रमुख दिवाकर पन्तले गर्नुभएको थियो। प्रमुख अतिथि जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित बहादुर शाही तथा विशेष अतिथि प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई रहनुभएको थियो।
यस वर्ष उत्कृष्ट कृषक पुरस्कारबाट तिलागुफा नगरपालिका–११ का टेक बहादुर शाही प्रथम, खाँडाचक्र नगरपालिका–६ का जनक बहादुर शाही द्वितीय तथा रास्कोट नगरपालिका–९ का गोकर्ण न्यौपाने तृतीय घोषित भई सम्मानित हुनुभएको हो। प्रथम हुने कृषकलाई रु. ३० हजार, द्वितीयलाई रु. २५ हजार र तृतीयलाई रु. २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा अध्यक्षता गर्दै जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख दिवाकर पन्तले उत्कृष्ट कृषक छनोट प्रक्रिया पूर्ण रूपमा निर्धारित मापदण्डका आधारमा गरिएको बताउनुभयो। उहाँले चालु आर्थिक वर्षमा १२ वटा प्रस्ताव प्राप्त भएको र मूल्याङ्कनपछि कृषि क्षेत्रमा नवीन अभ्यास, उत्पादन वृद्धि, व्यवसायिकता तथा अन्य कृषकलाई प्रेरणा दिने योगदानका आधारमा उत्कृष्ट तीन कृषक छनोट गरिएको जानकारी दिनुभयो। यस्ता पुरस्कारले कृषकलाई थप उत्साह र जिम्मेवारीका साथ कृषि कर्ममा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख अतिथि धनजित बहादुर शाहीले कृषि नै जिल्लाको आर्थिक समृद्धिको प्रमुख आधार भएकाले मेहनती र सफल कृषकलाई राज्यले सम्मान गर्नु सकारात्मक अभ्यास भएको बताउनुभयो। उहाँले कृषिलाई व्यवसायिक, आधुनिक र प्रविधिमैत्री बनाउन स्थानीय तह, सरकारी निकाय र कृषकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सम्मानित कृषकहरू अन्य कृषकका लागि प्रेरणाको स्रोत बन्नुपर्ने धारणा राख्नुभयो।
विशेष अतिथि तथा प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले कृषिमा आत्मनिर्भरता नै समृद्धिको आधार भएको बताउँदै कृषकको सम्मानले उत्पादनमुखी समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कृषि क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा रूपान्तरण गर्न आधुनिक प्रविधिको प्रयोग, बजार व्यवस्थापन र सरकारी सेवाको प्रभावकारी पहुँच आवश्यक रहेको उल्लेख गर्नुभयो।
प्रथम पुरस्कारबाट सम्मानित टेक बहादुर शाहीले राज्यबाट प्राप्त सम्मानले अझ उत्साहित बनाएको बताउँदै आगामी दिनमा अझ मेहनतका साथ व्यवसायिक कृषि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। दोस्रो पुरस्कार विजेता जनक बहादुर शाहीले निरन्तरको मेहनतको मूल्यांकन हुँदा खुसी लागेको बताउँदै अन्य युवालाई पनि कृषि क्षेत्रमा लाग्न आग्रह गर्नुभयो। तृतीय पुरस्कार प्राप्त गोकर्ण न्यौपानेले कृषि पेशामा निरन्तर लागिरहँदा सफलता प्राप्त हुने अनुभव सुनाउँदै सरकारी प्रोत्साहनले कृषकको आत्मविश्वास बढाउने बताउनुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले मेहनती तथा नवीनतम कृषि अभ्यास अपनाउने कृषकलाई सम्मान गर्ने यस्ता कार्यक्रमले कृषि उत्पादन वृद्धि, व्यवसायीकरण तथा कृषिप्रति युवाको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । पुरस्कार बितरण कार्यक्रमको संचालन कृषि बिकास अधिकृत रमाकान्त खनालले गर्नुभयको थियो





