कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका–७ पिलीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बुधबार बिहान करिब ९ः३० बजे पिलीबाट मान्मतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो एक्कासि ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा महाबै गाउँपालिका–५ गेलाका ३५ वर्षीय मंगल शाही गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लैजाँदै गर्दा तिलागुफा नगरपालिका–राचुलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए।
दुर्घटनामा महाबै गाउँपालिका–५ की २५ वर्षीया सविना शाही, महाबै–६ की २६ वर्षीया प्रतिमा आचार्य र महाबै–५ का २९ वर्षीय कुलप्रसाद भट्टराई घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल मान्म, कालिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अटो चालक खाँडाचक्र नगरपालिका–७ पिलीका ४७ वर्षीय कृष्णबहादुर मल्ललाई भने चोटपटक नलागेको र प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको र सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ। घटनास्थल अस्थायी प्रहरी पोष्ट पिलीबाट करिब दुई किलोमिटर पूर्वमा पर्छ।





