कालिकोटका युवा ब्यावसायि धितालका प्रतिनिधि शभा सदस्य उम्मेदवार लाई १० प्रस्न

कालिकोटका युवा ब्यावसायि धितालका प्रतिनिधि शभा सदस्य उम्मेदवार लाई १० प्रस्न

युवा ब्यावसायि तिलक धितालका १० प्रस्न जस्ताको त्यस्तै ।
आदरणीय कालीकोटका सबै उम्मेदवारज्यूहरू,
म कालीकोटको शुभकालिका गाउँपालिका–३ का एक सचेत र शिक्षित मतदाता हुँ। हाल म काठमाडौँमा व्यवसाय गर्दैछु। काठमाडौँबाट कालीकोट मतदान गर्न आउँदा करिव एक हप्ताको विदा लिनुपर्ने हुन्छ र आर्थिक रूपमा करिब ४० हजार रुपैयाँ खर्च हुन्छ। यो व्यवस्था मिलाउन म लगाएत धेरै मतदाताका लागि गार्हो र जटिल कुरा हो। तर पनि म यो पटक मेरो मतदानको कर्तव्य पूरा गर्नेछु। मैले मेरो मतदानको कर्तव्य पूरा गर्दै गर्दा केही प्रश्नहरू सबै उम्मेदवारज्यूहरूलाई सोध्न चाहान्छु। हाम्रो जिल्ला दशकौँदेखि विकास, सेवा र अवसरका हिसाबले पछि परेको छ भन्नेमा कुनै शंका छैन। यसपालि म भावनामा होइन, बुझेर र सोचेर मतदान गर्न चाहन्छु। त्यसैले मतदाताको हैसियतले तपाईं सबैलाई तलका १० प्रश्न राख्न चाहन्छु:
१) तपाईंको शैक्षिक, पारिवारिक र पेशागत पृष्ठभूमि के हो? उम्मेदवारी दिनु अघि तपाईंले हाम्रो समाज वा कालीकोटका लागि के–कस्ता जिम्मेवारीहरू वहन गर्नुभएको थियो? विगतमा कालीकोटका लागि तपाईंले गरेका ठोस कामहरू के–के हुन्?
२) सांसदको मुख्य काम नीति बनाउनु हो। तपाईंलाई नीति निर्माण प्रक्रिया (policy-making process) कति हदसम्म थाहा छ? तपाईंको विशेषज्ञता (expertise) कुन क्षेत्रमा छ, र संसदमा बसेर कस्ता नीतिगत प्रस्ताव वा संशोधन ल्याउने योजना छ?
३) निर्वाचित भए पश्चात् पहिलो १–५ वर्षभित्र कालीकोटका लागि तपाईंले अनिवार्य रूपमा पूरा गर्ने कम्तीमा पाँच ठूला र मापनयोग्य कामहरू के–के हुन्? ती काम सफल भए/नभएको हामी कसरी मूल्यांकन गर्न सक्छौं?
४) अन्तर्राष्ट्रिय मञ्चमा नेपालको र कालीकोटको प्रतिनिधित्व गर्ने अवसर आएमा तपाईं के विषयमा बोल्नुहुन्छ? वैदेशिक सहयोग, लगानी र परियोजना भित्र्याउन तपाईंको कूटनीतिक दृष्टि के हो, र त्यसबाट कालीकोटलाई कसरी फाइदा पुर्‍याउनुहुन्छ?
५) संघीय बजेट कालीकोटमा सधैं कम आएको गुनासो छ। तपाईंले केन्द्रमा कालीकोटका मुद्दा कसरी बलियोसँग उठाउनुहुन्छ? विगतमा नेताहरूले नसकेको कारण के थियो, र यसपालि तपाईंले कुन फरक रणनीति अपनाउनुहुन्छ?
६) तपाईंको बुझाइमा कालीकोटका आजका मुख्य तीन संरचनागत समस्या के हुन् (जस्तै: सडक, रोजगारी, शिक्षा, स्वास्थ्य, बसाइँ–सराइ आदि)? यी समस्याहरू समाधान गर्न तपाईंको ठोस कार्ययोजना के हो, र प्राथमिकता कसरी तोक्नुहुन्छ?
७) यी समस्याहरू समाधान गर्न तपाईं संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, दातृ निकाय र निजी क्षेत्रसँग कसरी समन्वय (coordination) गर्नुहुन्छ? तपाईंको विकासको समग्र “ब्लूप्रिन्ट” के हो, र कुन निकायसँग कुन भूमिकामा मिलेर काम गर्नुहुन्छ?
८) कुन परियोजना कति वर्षभित्र सुरु र सम्पन्न गर्ने लक्ष्य छ? प्रत्येक प्रमुख परियोजनाका लागि कति बजेट आवश्यक छ, र त्यो रकम संघीय बजेट, प्रदेश बजेट, दातृ संस्था वा निजी लगानीबाट कसरी जुटाउने योजना छ?
९) सडक, बिजुली, स्वास्थ्य र शिक्षामध्ये तपाईं पहिलो दुई वर्षमा कुन क्षेत्रलाई सबैभन्दा प्राथमिकता दिनुहुन्छ? बाँकी क्षेत्रलाई क्रमशः कसरी समेट्दै लैजानुहुन्छ?
१०) कालीकोटमा रोजगारी सिर्जना गर्न तपाईंको व्यावहारिक योजना (Practical plan) के छ? कृषि, पर्यटन, जडीबुटी, साना उद्योग वा अन्य कुन क्षेत्रबाट युवालाई गाउँमै टिकाउने सोच छ? यस सम्बन्धमा केहि अध्ययन वा अनुसन्धान गर्नुभएको छ?
हामी जस्ता युवालाई अब नारा होइन, स्पष्ट योजना, इमानदार प्रतिबद्धता, समन्वय क्षमता र नीतिगत समझ चाहिएको छ। तपाईंहरूको जवाफकै आधारमा हामी जस्ता मतदाताले आफ्नो र कालीकोटको भविष्यको निर्णय गर्नेछौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित