कालिकोट — तिलागुफा नगरपालिका वडा नं. २ का निवर्तमान वडा अध्यक्ष दलसुर बोहोरा नेकपा एमालेमा समाहित भएका छन्। स्थानीय तह निर्वाचन २०७४ मा नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित भएका बोहोरा अब नेकपा एमालेमा औपचारिक रूपमा प्रवेश गरेका हुन्।
बोहोरालाई नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य कुर्मराज शाही तथा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवं तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले अबिर र खादा लगाई पार्टीमा स्वागत गरेका थिए। उक्त कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै बोहोराले नेकपा एमालेको नीति, सिद्धान्त र राष्ट्रप्रति पार्टीको दृष्टिकोणबाट प्रभावित भई आफू एमालेमा प्रवेश गरेको बताए। उनले देशको विकास, समृद्धि र जनताको सेवा गर्ने स्पष्ट मार्गचित्र एमालेसँग रहेको उल्लेख गर्दै सोही उद्देश्यले आफूले पार्टी रोजेको बताए।
बोहोराले कालिकोट जिल्लामा नेकपा एमालेलाई अझ सुदृढ, संगठित र जनमुखी बनाउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। उनले विगतमा पनि जनप्रतिनिधिका रूपमा जनताको हितमा काम गरेको स्मरण गर्दै आगामी दिनमा पार्टीमार्फत जनताको अपेक्षा पूरा गर्न अझ प्रभावकारी रूपमा काम गर्ने बताए।
यसैबीच कार्यक्रममा बोल्दै एमाले नेता कुर्मराज शाहीले बोहोराको पार्टी प्रवेशले कालिकोटमा एमाले संगठन थप बलियो बन्ने विश्वास व्यक्त गरे। उनले एमालेले देशको विकास, स्थिरता र समृद्धिका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्दै योग्य र अनुभवी व्यक्तिहरूको पार्टी प्रवेशले संगठनलाई थप मजबुत बनाउने बताए।
त्यस्तै, कर्णाली प्रदेश कमिटी सदस्य तथा तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले बोहोरालाई पार्टीमा स्वागत गर्दै आगामी दिनमा पार्टीको संगठन विस्तार तथा जनताको सेवा गर्ने अभियानमा सँगै मिलेर काम गर्ने बताए। उनले एमालेले अघि सारेको “समृद्ध नेपाल, सुखी नेपाली” को अभियानलाई सफल बनाउन सबै नेता–कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याए।
बोहोराको एमाले प्रवेशसँगै तिलागुफा नगरपालिका क्षेत्रमा एमालेको संगठनात्मक गतिविधि थप सक्रिय हुने स्थानीय नेताहरूको विश्वास रहेको छ।
पार्टि प्रबेश कार्यक्रम मा नेकपा एमाले तिलागुफा नगर कमिटि अध्यक्ष बिर्ख सुनार , अनेरास्वियु नेता धर्म शाही लगायतको सहभागिता रहेको थियो ।





