“एसईईपछि करियर मार्गदर्शन: महावैमा २५० बढी विद्यार्थी सहभागी”

“एसईईपछि करियर मार्गदर्शन: महावैमा २५० बढी विद्यार्थी सहभागी”

किरण अधिकारी

कालिकोट — एसईई परीक्षा सम्पन्न गरी नतिजाको प्रतिक्षामा रहेका विद्यार्थीहरूलाई सही करियर मार्गनिर्देशन प्रदान गर्ने उद्देश्यले कालिकोटको महावै गाउँपालिकाले २०८३ साल बैशाख २ गते बृहत् अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। गाउँपालिकाको कार्यालय गैराखाडामा आयोजित उक्त कार्यक्रममा करिब २५० जना किशोर–किशोरी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

महावै गाउँपालिकाको आयोजना तथा वडा फाउण्डेसन र इको हिमालको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई भविष्यप्रति सचेत, सक्षम र आत्मविश्वासी बनाउने लक्ष्य लिएको थियो। कार्यक्रममार्फत विद्यार्थीहरूलाई करियर योजना, सीप विकास, उद्यमशीलता, रोजगारीका सम्भावना, तथा मानसिक स्वास्थ्यजस्ता महत्वपूर्ण विषयहरूमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख वक्ता तथा गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले वर्तमान समय अत्यन्त प्रतिस्पर्धात्मक रहेको उल्लेख गर्दै विद्यार्थीहरूले आफ्नो रुचि, क्षमता र लक्ष्यलाई स्पष्ट रूपमा पहिचान गरी सोहीअनुसार करियर छनोट गर्नुपर्नेमा जोड दिए। उनले परम्परागत सोच र सीमित अवसरको दायराबाट बाहिर निस्केर प्राविधिक शिक्षा, व्यवसायिक सीप तथा उद्यमशीलता विकासतर्फ अग्रसर हुन आग्रह गरे। “अबको युग सीप र सिर्जनशीलताको युग हो, जागिर खोज्ने होइन, सिर्जना गर्ने बन्नुपर्छ,” उनले भने।

त्यसैगरी, स्थानीय होटल व्यवसायी हर्ष रावतले आफ्ना अनुभवहरू साझा गर्दै सफलता हासिल गर्नका लागि सानो अवसरलाई पनि सही रूपमा उपयोग गर्नुपर्ने बताए। उनले व्यवहारिक सीप, अनुशासन र निरन्तर मेहनतले मात्र दीर्घकालीन सफलता सम्भव हुने उल्लेख गरे। “पढाइसँगै सीप सिक्न सके भविष्यमा आत्मनिर्भर बन्न सहज हुन्छ,” उनले जोड दिए।

कानुन व्यवसायी तथा मनोपरामर्श विज्ञ खडानन्द चौलागाईंले किशोरावस्थामा देखिने मानसिक तनाव, दबाब, असमञ्जस र सामाजिक चुनौतीहरूबारे विस्तृत रूपमा प्रकाश पारे। उनले विद्यार्थीहरूलाई आत्मविश्वास बढाउन, सकारात्मक सोच विकास गर्न र समस्या आएमा उचित परामर्श लिन प्रेरित गरे। साथै, अभिभावकहरूलाई पनि आफ्ना सन्तानको मनोभावना बुझेर सहयोगी भूमिका खेल्न आग्रह गरे।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्ण राज शुयलले राज्यका तर्फबाट उपलब्ध विभिन्न अवसरहरूबारे जानकारी गराउँदै छात्रवृत्ति, प्राविधिक शिक्षा, वैदेशिक रोजगारी तथा स्वरोजगारका सम्भावनाहरूको चर्चा गरे। उनले अनुशासन, समय व्यवस्थापन र निरन्तर प्रयास सफलताको मुख्य आधार भएको उल्लेख गर्दै युवाहरूलाई सही दिशामा अघि बढ्न प्रेरित गरे। “सफलता एकैपटक प्राप्त हुँदैन, निरन्तर प्रयास र धैर्य आवश्यक पर्छ,” उनले भने।

कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले यस्तो किसिमको अभिमुखीकरणले भविष्यप्रति स्पष्टता ल्याउन मद्दत पुगेको प्रतिक्रिया दिएका छन्। उनीहरूले विशेषगरी करियर छनोट, मानसिक स्वास्थ्य र सीप विकाससम्बन्धी जानकारी उपयोगी रहेको बताएका छन्।

महावै गाउँपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। गाउँपालिकाका अनुसार ग्रामीण भेगका विद्यार्थीहरूलाई सही मार्गनिर्देशन प्रदान गर्न र उनीहरूको क्षमता विकास गर्न यस्ता सचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम अत्यन्त प्रभावकारी हुने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित