किरण अधिकारी
७ बैसाख
कालीकोट — कालीकोटको रास्कोट नगरपालिका मा सोमबारदेखि इलाका प्रशासन कार्यालयमार्फत नागरिक सेवा औपचारिक रूपमा सुरु गरिएको छ। यससँगै अब स्थानीय नागरिकले सामान्य प्रशासनिक सेवाका लागि जिल्ला सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
जिल्ला प्रशासन कार्यालय कालीकोटबाट उपलब्ध हुँदै आएका नागरिकता, राष्ट्रिय परिचयपत्रका लागि आवेदन संकलन तथा कार्ड वितरणलगायतका सेवा अब रास्कोटमै सहज रूपमा प्राप्त हुने प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले जानकारी दिए।
उनका अनुसार रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिका का सेवाग्राहीहरूले अब इलाका प्रशासन कार्यालय रास्कोटबाटै सेवा लिन सक्नेछन्।
नगर प्रमुख धर्मराज शाहीले नागरिकलाई सहज, छिटो र पहुँचयोग्य सेवा दिन कार्यालय विस्तार गरिएको बताए। “लामो समयदेखि स्थानीयले उठाउँदै आएको माग पूरा भएको छ,” उनले भने, “अब नापी, मालपोतलगायतका सेवा प्राप्त गर्न पनि सहज हुनेछ।”
संघीय सांसद महेन्द्रबहादुर शाहीले रास्कोटमै इलाका प्रशासन कार्यालय स्थापना हुनु ऐतिहासिक उपलब्धि भएको बताए। उनले यसको स्थापनाका लागि लामो समयदेखि प्रयास भइरहेको उल्लेख गर्दै सहयोगी सबैप्रति आभार व्यक्त गरे।
स्थानीय कर्ण कुमालले विशेषगरी वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई सदरमुकाम पुग्न कठिन हुने गरेको उल्लेख गर्दै अब गाउँमै सेवा उपलब्ध हुनु ठूलो राहत भएको प्रतिक्रिया दिए।
इलाका प्रशासन कार्यालय सञ्चालनका लागि कामु शाखा अधिकृत नवराज बमको नेतृत्वमा कर्मचारी खटाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार यस कार्यालयबाट चार स्थानीय तहका करिब ५० हजार नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।





