समयअघि सम्पन्न भयो भर्तागाडको पक्की पुल, स्थानीयवासीमा खुसी

समयअघि सम्पन्न भयो भर्तागाडको पक्की पुल, स्थानीयवासीमा खुसी

किरण अधिकारी कालिकोट,

शुभकालिका गाउँपालिका अन्तर्गत भर्तागाडको रिगीखोलामा निर्माण गरिएको २५ मिटर लामो पक्की पुल सञ्चालनमा आएको छ। निर्धारित समयभन्दा अगावै पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासी खुसी भएका छन्।
पुल निर्माण भएसँगै वर्षौंदेखि आवतजावतमा समस्या भोग्दै आएका स्थानीय नागरिकले राहत महसुस गरेका छन्। विशेषगरी वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ भने दैनिक आवतजावत थप सहज बनेको छ।
पूर्वाधार विकास कार्यालय कालिकोटमार्फत सञ्चालित उक्त आयोजनाको निर्माण जिम्मा तमाकोशी डाइमण्ड जेभीले लिएको थियो। निर्माण कम्पनीले तोकिएको समयसीमाभन्दा अघि नै पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो।
निर्माण कम्पनीका सञ्चालक कमल शाहीका अनुसार कर्णालीको भौगोलिक विकटता, निर्माण सामग्रीको महँगी तथा ढुवानीका चुनौतीका बाबजुद पुल गुणस्तरीय रूपमा समयअघि नै सम्पन्न गरिएको हो। उनले स्थानीयवासीलाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको बताए।
कर्णाली प्रदेशमा धेरै विकास आयोजना निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमा सम्पन्न हुन नसकिरहेका बेला रिगीखोलाको पुल समयअघि नै निर्माण सम्पन्न हुनु सकारात्मक उदाहरण बनेको स्थानीयको भनाइ छ।
स्थानीय जनप्रतिनिधिहरूले पुल सञ्चालनमा आएपछि क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। पुलले स्थानीय उत्पादनको बजार पहुँच बढाउनुका साथै कृषि उपज ढुवानी, व्यापार व्यवसाय, शिक्षा तथा स्वास्थ्य सेवामा पुग्न सहजता ल्याउने अपेक्षा गरिएको छ।
स्थानीयवासीले पुल निर्माणलाई विकासको महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै सम्बन्धित निकाय र निर्माण कम्पनीप्रति धन्यवाद व्यक्त गरेका छन्। समयमै सम्पन्न भएको यस पुलले शुभकालिका गाउँपालिकाका विभिन्न बस्तीबीचको सम्पर्कलाई थप मजबुत बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित