ढिलो हाजिर भएका प्रमुख प्रशासकीय अधिकृतलाई अध्यक्षको सांकेतिक स्वागत, उपहारमा घडी र पात्रो

ढिलो हाजिर भएका प्रमुख प्रशासकीय अधिकृतलाई अध्यक्षको सांकेतिक स्वागत, उपहारमा घडी र पात्रो

कालिकोट । महावै गाउँपालिकामा सरुवा भई करिब दुई महिनापछि मात्रै हाजिर भएका प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका अध्यक्षले घडी र भित्ते पात्रो उपहार दिएर सांकेतिक स्वागत गरेका छन्।
सामान्य प्रशासन मन्त्रालयको २०८२ चैत १९ गतेको निर्णयअनुसार महावै गाउँपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत शिव कोइराला २०८३ जेठ १३ गते मात्र गाउँपालिकामा हाजिर भएका हुन्। सरुवापछि लामो समयसम्म कार्यस्थलमा उपस्थित नभएको विषयलाई संकेत गर्दै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह ले घडी र भित्ते पात्रो उपहार प्रदान गरेका हुन्।
अध्यक्ष सिंहले समयको महत्व स्मरण गराउने उद्देश्यले घडी तथा पात्रो उपहार दिइएको बताएका छन्। उनले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको लामो अनुपस्थितिले सेवा प्रवाह, विकास निर्माण तथा प्रशासनिक कामकाज प्रभावित हुने भएकाले समयमै जिम्मेवारी सम्हाल्नुपर्ने आवश्यकता औँल्याए।
गाउँपालिकामा आयोजित स्वागत कार्यक्रममा अध्यक्ष सिंहले “समय र मितिको ख्याल राखेर जनताप्रति उत्तरदायी ढंगले काम गर्नुपर्छ” भन्ने सन्देश दिन सांकेतिक रूपमा उक्त उपहार प्रदान गरिएको बताए।
प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने आफूले अब गाउँपालिकाको प्रशासनिक कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय तहमा सरुवा भएर लामो समयसम्म कर्मचारी हाजिर नहुने प्रवृत्तिबारे विभिन्न समयमा प्रश्न उठ्दै आएको छ। महावै गाउँपालिकामा भने अध्यक्षले घडी र पात्रो उपहार दिएर ढिलो उपस्थितिको विषयलाई सार्वजनिक रूपमा संकेत गरेपछि यो घटना स्थानीयस्तरमा चर्चा बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित