कालिकोट, असार २६ — कालिकोटको महावै गाउँपालिकामा कार्यरत कर्मचारीहरूले कार्यालय प्रमुखमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनाको विरोध गर्दै सामूहिक विज्ञप्ति जारी गरेका छन्। कर्मचारीहरूले घटनाको भर्त्सना गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्।
विज्ञप्तिअनुसार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइराला र शाखा अधिकृत खगेन्द्रबहादुर शाही बसेको कोठामा प्रवेश गरी एक व्यक्तिले कार्यालय प्रमुखमाथि कुटपिट तथा दुर्व्यवहार गरेका थिए। उक्त घटनाले कर्मचारीहरूको ज्यानको सुरक्षा, मनोबल तथा निर्भय भएर सेवा प्रवाह गर्ने वातावरणमाथि गम्भीर प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
कर्मचारीहरूले सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीमाथि हुने धम्की, कुटपिट र हिंसात्मक गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र सुशासनविपरीत रहेको बताएका छन्। यस्ता घटनाले सार्वजनिक प्रशासनमाथि नै चुनौती सिर्जना गर्ने भएकाले सम्बन्धित सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ।
सुरक्षित कार्य वातावरणको सुनिश्चितता, कर्मचारीको ज्यानको सुरक्षा तथा दोषीमाथि कानुनी कारबाही नभएसम्म महावै गाउँपालिकाका कर्मचारीहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गरी सामूहिक रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। उक्त विज्ञप्तिमा महावै गाउँपालिकामा कार्यरत कर्मचारीहरूको सामूहिक हस्ताक्षर रहेको छ।





