कालिकोट, । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिबनस्थित माथिल्लो काभ्रे खोलामा पानीघट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही वडाका लाल बहादुर साउद र मन्दिर साउद रहेका छन्। उनीहरू पानीघट्टमा पिठो पिस्ने क्रममा माथिबाट अचानक खसेको पहिरोमा परेका थिए। स्थानीयका अनुसार घटनास्थलमै दुवै जनाको मृत्यु भएको हो।
घटनापछि स्थानीयवासी, जनप्रतिनिधि तथा सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। यस घटनाले सान्नी त्रिवेणी गाउँपालिका तथा समग्र कालिकोट जिल्लालाई शोकमा डुबाएको छ।
सान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह ले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नुभयो, “यो घटना अत्यन्त दुःखद र पीडादायी छ। गाउँपालिकाको तर्फबाट दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। वर्षायाममा पहिरो तथा बाढीको जोखिम अत्यधिक हुने भएकाले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्दछु। गाउँपालिकाले आवश्यक समन्वय र सहयोगका लागि सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहेको छ।”
लगातारको वर्षासँगै पहिरो र बाढीको जोखिम बढ्दै गएकाले स्थानीय तह तथा प्रशासनले खोलानाला, पहिरोको उच्च जोखिम भएका स्थान तथा पानीघट्टतर्फ अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। अत्यावश्यक अवस्थामा मात्र मौसमको अवस्था र सम्भावित जोखिमको जानकारी लिएर यात्रा गर्न पनि अनुरोध गरिएको छ।





