कालीकोट — तिलागुफा नगरपालिकामा क्रिकेट खेलको विकास, प्रवर्द्धन तथा खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि नगरपालिका स्तरीय क्रिकेट संघको २५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।
तिलागुफा नगरपालिकाका नगर प्रमुख तथा नगर शिक्षा समितिका संयोजक शंकरप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न नगरपालिका स्तरीय भेलाले नरेश शाहीको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन गरेको हो। भेलामा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीको समेत उपस्थिति रहेको थियो।
नगरपालिकाभित्र क्रिकेट खेलप्रति युवाहरूको बढ्दो आकर्षणलाई व्यवस्थित गर्दै स्थानीय प्रतिभाको पहिचान, खेलाडी उत्पादन तथा आगामी दिनमा विभिन्न प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले समिति गठन गरिएको हो।
भेलालाई सम्बोधन गर्दै नगर प्रमुख शंकरप्रसाद उपाध्यायले क्रिकेट खेलको विकासका लागि नगरपालिका आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको बताए। उनले स्थानीय स्तरमा रहेका प्रतिभावान् खेलाडीको पहिचान गरी उनीहरूलाई उचित अवसर प्रदान गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले क्रिकेटप्रति युवाहरूको आकर्षण बढ्दै गएकाले खेलाडीको क्षमता विकाससँगै खेलकुदको पूर्वाधार र वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताए। उनले नवगठित समितिले तिलागुफामा क्रिकेटको विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
नवगठित तदर्थ समितिका संयोजक नरेश शाहीसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले स्थानीय स्तरमा क्रिकेट गतिविधि विस्तार, प्रतिभा पहिचान र खेलाडी उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।
समिति गठनसँगै तिलागुफामा क्रिकेट खेलको संस्थागत विकास हुने, नयाँ प्रतिभाले अवसर पाउने र आगामी दिनमा नगरपालिका तथा जिल्लास्तरीय प्रतियोगिता सञ्चालनमा सहजता हुने अपेक्षा गरिएको छ।





