किरण अधिकारी
कालिकोट, जेठ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालिकोटको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन सदरमुकाम मान्ममा सुरु भएको छ। जिल्लामा पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले आयोजित अधिवेशनको उद्घाटन समारोह बुधबार संचालन भएको हो।
रास्वपा कालिकोटका जिल्ला सभापति प्रेम केसीको अध्यक्षतामा भयको उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य आशुतोष प्रधान प्रमुख अतिथिका रूपमा सहभागी भएका छन । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मा. ज्ञानु पौडेल, पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता, शुभेच्छुक तथा जिल्लाभरबाट आएका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको छ ।
अधिवेशन उद्घाटन गर्दै वक्ताहरूले मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई संस्थागत गर्न राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिबद्ध रहेको बताएका थिए। उनीहरूले जनताका अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर संगठन विस्तार तथा राजनीतिक गतिविधि सञ्चालन गरिने धारणा व्यक्त गरेका थिए।
वक्ताहरूले कालिकोटजस्तो दुर्गम जिल्लाका नागरिकका समस्या, विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सुशासनका सवाललाई प्राथमिकतामा राख्दै पार्टीले आफ्नो भूमिका थप प्रभावकारी बनाउने बताए। साथै युवाको राजनीतिक सहभागिता बढाउँदै वैकल्पिक राजनीतिक संस्कृतिको विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए।
आजबाट सुरु भएको अधिवेशनले आगामी कार्यकालका लागि नयाँ जिल्ला कार्यसमिति चयन गर्नेछ। अधिवेशनमा जिल्लाका विभिन्न पालिकाबाट आएका प्रतिनिधिहरूले संगठन विस्तार, पार्टीको भावी कार्यदिशा, स्थानीय तहमा पार्टीको भूमिका तथा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
रास्वपाको कालिकोटमा पहिलोपटक आयोजना गरिएको जिल्ला अधिवेशनलाई संगठन निर्माण, नेतृत्व विकास तथा पार्टीलाई जिल्लास्तरमा थप बलियो बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले आगामी दिनमा जिल्लाभित्र पार्टी गतिविधिलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने अपेक्षा गरिएको रास्ट्रिय स्वतन्त्र पार्टि कालिकोट जिल्ला शभापति प्रेम केसि ले बताए ।





