किरण अधिकारी
कालिकोट
कालीकोटका -ग्रामीण विद्यालयहरूमा केही वर्षअघिसम्म महिनावारी, शरीरमा आउने परिवर्तन, मानसिक तनाव वा सम्बन्धका विषयमा खुलेर बोल्नु असजिलो मानिन्थ्यो । किशोरीहरू आफ्नै जिज्ञासा लुकाएर बस्न बाध्य हुन्थे । शरीरमा भइरहेका परिवर्तनबारे न त विद्यालयमा स्पष्ट जानकारी पाइन्थ्यो, न त घरपरिवारमा खुलेर संवाद गर्ने वातावरण नै थियो । परिणामतः धेरै किशोरी अन्योल, डर र गलत सूचनाको घेरामा हुर्किरहेका थिए ।
तर अहिले विस्तारै त्यो मौनता टुट्न थालेको छ । विद्यालयका कक्षाकोठादेखि समुदायका खुला छलफलसम्म किशोर–किशोरीहरू आफ्ना अनुभव, जिज्ञासा र समस्याबारे खुलेर बोल्न थालेका छन् । यसको आधार बनेको छ — बृहत्तर यौनिकता शिक्षा ।
प्लान ईन्टरनेशनल नेपालको सहयोग तथा हुरेन्डेक नेपालको सहजिकरण द्वारा सञ्चालित ‘रास्कोट महिनावारी स्वास्थ्य र खानेपानी स्वच्छता सुधार परियोजना’ अन्तर्गत रास्कोट नगरपालिका का विद्यालयहरूमा सञ्चालन भइरहेका यौनिकता शिक्षा सम्बन्धी कार्यक्रमहरूले किशोरीहरूको सोच, आत्मविश्वास र व्यवहारमा परिवर्तन ल्याउन थालेका छन् ।
“पहिले डर लाग्थ्यो, अहिले बुझ्न थालेका छौँ”
अन्तरक्रिया कार्यक्रममा सहभागी एक किशोरीले आफ्नो अनुभव सुनाउँदै भनिन्,
“पहिले महिनावारी हुँदा किन यस्तो भइरहेको छ भन्ने नै थाहा हुँदैनथ्यो । कसैलाई सोध्न पनि डर लाग्थ्यो । अहिले शरीर, स्वास्थ्य र सुरक्षित व्यवहारबारे बुझ्न थालेपछि आत्मविश्वास बढेको छ ।”
उनको यो अनुभव केवल एक जनाको कथा होइन, ग्रामीण समाजका हजारौँ किशोरीहरूको साझा यथार्थ हो । अझै पनि धेरै किशोरीहरू शरीरमा हुने परिवर्तनलाई ‘लाज’ वा ‘निषेध’ को विषय ठान्न बाध्य छन् । सही जानकारीको अभावले उनीहरू मानसिक तनाव, हिंसा, दुर्व्यवहार र बालविवाहजस्ता जोखिमतर्फ धकेलिन सक्छन् ।
विशेषगरी दुर्गम समुदायमा यौनिकता सम्बन्धी विषयलाई गलत अर्थमा बुझ्ने प्रवृत्ति अझै गहिरो छ । कतिपय अभिभावक र समुदायले यौनिकता शिक्षालाई “अश्लीलता सिकाउने विषय” का रूपमा बुझ्ने गरेका छन् । तर विज्ञहरूका अनुसार बृहत्तर यौनिकता शिक्षा भनेको केवल यौन सम्बन्धी जानकारी होइन; यो जीवन सीप, आत्मसम्मान, अधिकार, निर्णय क्षमता र सुरक्षित व्यवहार सिकाउने शिक्षा हो ।
किशोरावस्थाको जिज्ञासालाई सही उत्तर आवश्यक
किशोरावस्था मानव जीवनको संवेदनशील चरण हो । यही उमेरमा शरीर, भावना र सोचमा तीव्र परिवर्तन आउँछ । यदि यस चरणमा सही जानकारी प्राप्त भएन भने किशोर–किशोरी गलत सूचना, सामाजिक दबाब र जोखिमपूर्ण व्यवहारको सिकार बन्न सक्छन् ।
कार्यक्रमका सहजीकर्ताहरूका अनुसार अहिले सामाजिक सञ्जाल र इन्टरनेटबाट किशोर–किशोरीले अनियन्त्रित सूचना सजिलै पाउने गरेका छन् । तर वैज्ञानिक र व्यवहारिक जानकारी नहुँदा उनीहरू भ्रमित हुने सम्भावना बढिरहेको छ ।
हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष खडानन्द अधिकारीका अनुसार “बृहत्तर यौनिकता शिक्षा भनेको किशोर–किशोरीलाई जिम्मेवार, सचेत र आत्मविश्वासी बनाउने माध्यम हो । यसले उनीहरूलाई आफ्नो शरीर, अधिकार र भविष्यप्रति सजग बनाउँछ ।”
उनका अनुसार अहिले यौनिकता शिक्षासँगै व्यवहारिक तथा सीपमूलक गतिविधिहरू पनि सञ्चालन भइरहेका छन्, जसले किशोर–किशोरीलाई केवल जानकारी मात्र नभई व्यवहार परिवर्तनतर्फ समेत प्रेरित गरिरहेको छ ।
विद्यालयमा शिक्षकको भूमिका झन् महत्वपूर्ण
किशोर–किशोरीका लागि सबैभन्दा नजिकको सिकाइस्थल विद्यालय हो । तर धेरै शिक्षक आफैँ यौनिकता सम्बन्धी विषय पढाउन सहज महसुस गर्दैनन् । यही चुनौतीलाई ध्यानमा राख्दै शिक्षकहरूका लागि पाँच दिने बृहत्तर यौनिकता शिक्षा तालिम सञ्चालन गरिएको छ ।
तालिममा किशोरावस्था, प्रजनन स्वास्थ्य, लैङ्गिक समानता, मानसिक स्वास्थ्य, सुरक्षित व्यवहार तथा बालअधिकारजस्ता विषयमा सहजीकरण गरिएको थियो ।
प्रशिक्षकहरूले शिक्षकलाई केवल पाठ पढाउने व्यक्ति नभई विद्यार्थीका विश्वासिला मार्गदर्शक बन्न आग्रह गरेका छन् । विद्यालयमा सही सूचना र परामर्श उपलब्ध हुँदा धेरै सामाजिक समस्या न्यूनीकरण गर्न सकिने विश्वास गरिएको छ ।
बालविवाह र हिंसाविरुद्ध शिक्षाको शक्ति
कालीकोटसहित देशका धेरै ग्रामीण क्षेत्रमा अझै पनि बालविवाह, लैङ्गिक विभेद र हिंसाका घटना चुनौतीकै रूपमा रहेका छन् । यस्ता समस्याको जडमा अशिक्षा, गरिबी र चेतनाको अभाव मुख्य कारण मानिन्छ ।
विशेषज्ञहरूका अनुसार बृहत्तर यौनिकता शिक्षाले किशोर–किशोरीलाई “हो” र “होइन” भन्न सिकाउँछ । यसले उनीहरूलाई असुरक्षित व्यवहार, दबाब र दुर्व्यवहारविरुद्ध आवाज उठाउन सक्षम बनाउँछ ।
सही समयमा सही जानकारी पाउने किशोरीहरू आफ्नो शिक्षा, स्वास्थ्य र भविष्यप्रति बढी सचेत हुने विभिन्न अध्ययनहरूले देखाएका छन् ।
परिवर्तनको संकेत
कालीकोटका विद्यालयहरूमा अहिले देखिएको खुलापन र संवादको वातावरण सामाजिक परिवर्तनको सकारात्मक संकेत मानिएको छ । पहिले लुकाएर राखिने विषय अहिले छलफलको केन्द्र बन्न थालेका छन् ।
यौनिकता शिक्षा अझै पनि नेपाली समाजका धेरै ठाउँमा संवेदनशील विषय मानिन्छ । तर किशोरीहरूको अनुभवले एउटा स्पष्ट सन्देश दिएको छ — मौनता समस्याको समाधान होइन । सही शिक्षा, खुला संवाद र वैज्ञानिक जानकारी नै सुरक्षित, सम्मानित र सचेत समाज निर्माणको आधार हो ।
आजका किशोरीहरू केवल जानकारी खोजिरहेका छैनन्; उनीहरू आफ्नो अधिकार, सुरक्षा र सम्मानपूर्ण भविष्यको सुनिश्चितता खोजिरहेका छन् । समाज, विद्यालय र परिवारले उनीहरूको यो आवाज सुन्न सके मात्र सचेत र समानतामूलक समाज निर्माण सम्भव हुनेछ





