बिमा गरेपछि मेरो अनुभव: बिमा योजना नबुझि बिमा नगर्न आग्रह ।

 बिमा गरेपछि मेरो अनुभव: बिमा योजना नबुझि बिमा नगर्न आग्रह ।

नारायण बहादुर शाही धार्चे,गोरखा

जीवन बिमा भविष्यको आर्थिक सुरक्षाका लागि गरिने महत्त्वपूर्ण योजना हो। तर बिमा गर्ने क्रममा कम्पनीका नियम तथा सर्त, प्रिमियम, समर्पण (Surrender) सम्बन्धी व्यवस्था, बिमा रद्द गर्ने प्रक्रिया तथा रकम फिर्तासम्बन्धी प्रावधानहरू राम्रोसँग नबुझी निर्णय गर्दा पछि आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ।
मेरो आफ्नै अनुभव अनुसार, सन् २०२० मा मैले सूर्यज्योति लाइफ इन्स्योरेन्स मा २० लाख रुपैयाँ र मेरी श्रीमतीले १५ लाख रुपैयाँको जीवन बिमा गरेका थियौँ। पहिलो किस्ताबापत मेरो १ लाख ५५ हजार रुपैयाँ र श्रीमतीको १ लाख ३८ हजार रुपैयाँ गरी करिब २ लाख ९३ हजार रुपैयाँ जम्मा गरेका थियौँ।
पछि सन् २०२२ मा विभिन्न व्यक्तिगत कारणले बिमा निरन्तरता दिन नसक्ने भएपछि मैले सूर्यज्योति लाइफ इन्स्योरेन्सको जुम्ला शाखा तथा सुर्खेत शाखा मा बिमा रद्द गर्ने प्रक्रियाबारे जानकारी लिएको थिएँ। त्यहाँबाट तीन किस्ता नतिरी बिमा रद्द नहुने तथा प्रक्रिया पूरा हुन केही समय लाग्ने जानकारी प्राप्त भएको थियो। समय अभावका कारण मैले त्यसबेला प्रक्रिया अघि बढाउन सकिनँ।
त्यसपछि कम्पनीबाट पटक–पटक सन्देश आएपछि दोस्रो किस्ता भुक्तानी गरेपछि आवश्यक प्रक्रिया पूरा गर्न सकिने भन्ने मेरो बुझाइका आधारमा मिति २०८३/०३/२३ गते श्रीमान–श्रीमती दुवैको दोस्रो किस्ताबापत जम्मा ३ लाख ८३ हजार ३५१ रुपैयाँ भुक्तानी गरियो। तर पछि जानकारी लिँदा दोस्रो किस्तासँग सम्बन्धित रकम मात्र खातामा समावेश भएको र पहिलो किस्ताबापत जम्मा भएको रकम भने बिमा सम्झौताका नियम तथा सर्तअनुसार फिर्ता नहुने जानकारी प्राप्त भयो।
यो मेरो व्यक्तिगत अनुभव हो। यस अनुभवबाट मैले सिकेको सबैभन्दा ठूलो पाठ भनेको एजेन्टको मौखिक जानकारीमा मात्र भर नपर्नुहोस् भन्ने हो। बिमा गर्नु अघि पोलिसी बन्ड, नियम तथा सर्त, रकम फिर्ता हुने वा नहुने अवस्था, समर्पण (Surrender) सम्बन्धी व्यवस्था, बिमा रद्द गर्ने प्रक्रिया तथा सबै कानुनी प्रावधानहरू लिखित रूपमा राम्ररी बुझेर मात्र निर्णय गर्नुहोस्।
मेरो उद्देश्य कुनै संस्था वा व्यक्तिलाई आरोप लगाउनु होइन। मेरो अनुभव अरू कसैले पनि नदोहोर्‍याओस् र सबैले सचेत भएर निर्णय गरून् भन्ने हेतुले यो अनुभव सार्वजनिक गरेको हुँ।
नारायण बहादुर शाही शुभकालिका गाउँपालिका-८ कालिकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित